काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ। यो रिपो चैत २ गते परिपक्क हुनेछ ।  रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्ने उपकरणलाई रिपो भनिन्छ ।