
ललितपुर । गोदावरी नगरपालिका वडा नं ५ स्थित आनन्दवन अस्पतालले ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ ।
सो अस्पताल र दि लेप्रोसी मिसन नेपालद्वारा आज आयोजित ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ को अवसरमा मुलुकका जुनसुकै क्षेत्रबाट दुर्घटना परी उपचार सेवा लिन आउने बिरामीको हितमा उक्त सेन्टरको शुभारम्भ नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गरेका हुन् ।
कार्यक्रममा महर्जनले अस्पतालले कुष्ठरोगका बिरामीलाई उचित सेवा प्रदान गर्नाका साथै अन्यलाई समेत शुल्भ सेवा प्रदान गरिरहेको चर्चा गरे । उनले भने, “ यस अस्पतालले मुलुकमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) भित्रदा पनि अविस्मरणीय सेवा दिएको थियो ।”
मिसनका देशीय निर्देशक शोभाखर कँडेलले सेन्टरको भवनमा ४० शैयाको सुविधा रहेको बताउँदै सोमा दुईवटा सघन उपचार कक्ष (आइसियू) तथा एनआइसियूको व्यवस्था समेत रहेको सुनाए । उलने भने ,“यसमा चोट पटक लागेर घाइते भएका बिरामी मात्रै होइन् सुत्केरी हुन् अलि जटिल केश भएकालाई समेत उपचार गरिनेछ ।” उक्त अत्याधुनिक तवरबाट निर्माण भएको भवनले जिवाणुको संक्रमण रोक्नुका साथै जाडो मौसममा तातो र गर्मीमा चिसो हुने तवरको भएको कँडेलले जानकारी गराए ।
अस्पताल प्रशासन प्रमुख शेर गुरुङ्ले ट्रमाको भवन लगभग एक वर्ष अघिनै निर्माण भएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले आजबाट मात्रै सेवा सञ्चालन गर्न सकेको जिकीर गरे । उनले भने, “बिहानबाट सेन्टरमा ओपिडी (बहिरङ्ग) सेवा दिन सुरु गरेका छौँ । हामीले मेजर तथा माइनर अप्रेशन समेत सेन्टरबाट गराउनेछौँ ।” उक्त सेन्टर अघि बढाउनुको प्रमुख लक्ष्य भनेको दक्षिण ललितपुरका साथै मकवानपुर तथा हेटौडा एवं काभ्रे जिल्लाका जनताले आर्थिक अभावका कारण उचित स्वास्थ्य सेवा पाउने हकबाट बञ्चित नहुन भन्ने आफूहरुको सोच रहेको गुरुङ्ले प्रष्टाए ।
अस्पतालका मेडिकल निर्देशक डा.महेश शाहले सेन्टरमा उपचार गर्न आएका बिरामीसँग शुल्भ सेवा मात्रै लिइने भनाइ राखे । उनले भने, “हाम्रो उद्देश्य भनेको बिरामीलाई गुणस्तरीय सेवा दिनु मात्रै हो तर पैशा कमाउनु पर्छ भन्ने चाँही पटक्कै होइन् ।”
सेन्टर मार्फत बिरामीले विशेषज्ञ सेवा लिन पाउनेछन् । सेन्टरमा छाला हुँदै अर्थो तथा सामान्य शल्यक्रियाको समेत सुविधा दिइने बताइएको छ ।
आनन्दवनले हाल ७० कुष्ठरोगका बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ ।
आनन्दवमा हालसम्म एक सय ५० शैयाको व्यवस्था रहेको छ । सोमा ३० शैया जेनरल तथा ४० सेन्टर र ८० शैया कुष्ठरोगका बिरामीका लागि छुट्टाइएको हो ।
सेन्टर निर्माणका लागि मिसनले हालसम्म लगभग रु २५ करोड खर्च गरिसकेको छ ।
कृष्ठरोग रोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने गर्छ । सो रोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । सो रोगको सुरुआती चरणमा उपचार हुँदा क्षति नहुने र उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुगी अंगभंग हुने गरेको जानकारहरुको मत छ ।
सो रोग लागेका बिरामीको हातखुट्टा झमझमाउने तथा तातो चिसो छुट्टउन नसक्ने एवं आँखाको ढकनी बन्द गर्न नहुने, हातखुट्टाको औँला कमजोर भई बांगो हुने र केही पनि समात्न नसक्ने, स्पर्श गरेको वा चोटपटक लागेको या घाउ भएको थाहा नहुने लक्षण देखिनुका साथै कसैका कानका लोती झुन्डिने र जोर्नी दुख्न थाल्ने जस्ता समस्या पनि देखिन्छ ।
सन् १९५४ देखि हरेक जनवरीको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । सो अस्पतालले विगत ६७ वर्ष अघिदेखि कुष्ठरोगीको उपचार गर्दै आइरहेको छ ।
Facebook Comments