ललितपुर । टिकाभैरवमा रहेको आनन्दवन अस्पताल अन्यत्र सर्न लागेको भनी भईरहेको प्रचारको अस्पताल प्रशासनले खण्डन गरेको छ । द लेप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले सोमबार एक विज्ञप्ती प्रकाशन गर्दै भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गनुृभएको छ । केही दिन यता सामाजिक सञ्जालमा अस्पताल सर्न लागेको भन्ने पोष्टहरु आएकोमा आफूहरु संवेदनशील भएको बताउँदै गत सेप्टेम्बरमा गएको बाढीका कारण सिर्जना भएको असहज अवस्थापछि केही युनिटहरुका लागि वैकल्पिक व्यवस्थाको प्रयास भईरहेकोमा सकारात्मक सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

विज्ञप्तीमार्फत कँडेलले अस्पताल परिसरमा रहेको सेल्फ केयर युनिट र तालिम केन्द्र पूर्ण रुपमा क्षती भएको अस्पतालको अनुसन्धान प्रयोगशालामा आंशिक क्षती भएकाले सम्बन्धित युनिटका लागि तत्काल स्थान आवश्यक भएकाले जग्गा व्यवस्थापनको प्रयत्न भएकोमा अस्पताल सार्न लागिएको भन्ने अफवाह चल्नु दुखद भएको बताउनुभयो ।

 कँडेलले भन्नुभयो –‘दक्षिण ललितपुरका नागरिकलाई जनरल हेल्थ सर्भिस, कोभिडको बेलाको विशेष सेवा तथा आम कुष्ठ रोग प्रभावितलाई यति लामो समयसम्म दिएको स्वास्थ्य सेवाको भावनात्मक सम्बन्ध भएको आनन्दवन अस्पताल बन्द गर्ने वा स्थानान्तरण गर्ने कुरा हामी सोच्न पनि सक्दैनौं ।’ अन्तर्राष्ट्रि भौगार्भिक विज्ञ टोलीको स्थलगत भ्रमण पछि प्राप्त सुझावका आधारमा विद्यमान संरचनाको संरक्षण तथा मर्मत एवम् केही युनिटको वैकल्पिक व्यवस्थापनको प्रयत्नमा सहयोगको अपेक्षा रहेको पनि निर्देशक कँडेलले बताउनुभयो ।