फागुन ५, काठमाडौं ।

बागमती प्रदेशभित्रको सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को शुभारम्भ भएको छ । आज यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गर्नुभएको हो । 

उक्त समारोहमा मन्त्री महर्जनसहित बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केशवप्रसाद पोखरेल, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव बिरेन्द्रदेव भारती, विभिन्न यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको उपस्थितिमा कार्यक्रमको सुभारम्भ गरिएको हो ।

डिजिटाइजेशनका लागि मन्त्रालयले १०० जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरिएको यातायात मन्त्री महर्जनले जानकारी दिनुभयो । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताउनुभयो । 

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महर्जनले भन्नुभयो, “प्रविधिलाई जोड्न सकेमा सुशासन कायम गर्न सहज हुन्छ । त्यसैले यातायात मन्त्रालयले जनताका सेवासँग जोडिएको विषयलाई प्रविधिमा जोड्न लागिरहेको छ । आजको डिजिटाइजेशनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न सफल हुने विश्वास लिएका छौं । जसका लागि भिआरएसमार्फत डिजिटाइजेशन गर्नका लागि थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरि कार्य गरेका छौं ।”

मन्त्री महर्जनले देशमा केही हुनै नसक्ने नकारात्मक भावनालाई रोजगारी र प्रविधिमार्फत हटाउन सकिने भाव व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेशभित्रको यातायात क्षेत्रमा लाइसेन्स नागरिक एपमार्फत डिजिटलाइज्ड भइसकेको तथा लाइसेन्स बोक्नु नपर्ने भइसकेको भनाइ राख्नुभयो । मन्त्री महर्जनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको जानकारी दिनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका सदस्य केशवप्रसाद पोखरेलले सवारी साधनको क्षेत्रमा डिजिटाइजेशनले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले लामो समदेखी पेचिलो बनिरहेको डिजिटाइजेशन छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात् यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशमा अधिकार आएसँगै यातायात क्षेत्रमा लाइसेन्स र ब्लु बुक डिजिटाइज हुने र परिचयपत्र जनताले पाउने वातावरण बनेको धारणा राख्नुभयो ।  

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रदेव भारतीले डाटा इन्ट्रिकर्ताले जतिसक्दो छिटो तथ्यांक प्रविष्टि गर्न सकेमा त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले तर्फबाट यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्ने गरी कार्य गरिरहेको भनाई व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रमा गरिएका विभिन्न प्रयासको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

सो अवसरमा मन्त्रालयले सवारी साधनको फाइल फिर्ता गर्नका लागि दिएको सूचना अनुसार सवारी धनी प्रशान्त चौधरीले कार्यक्रम स्थलमै यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गर्नुभएको थियो । 

मन्त्रालयले अधिकतम दुइ बर्षभित्र डिजिटाइजेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।