काठमाडौँ । वर्षायाममा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि नगरपालिकाको प्रभावकारीरूपमा विपद् व्यवस्थापन कार्ययोजना बनाउन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले निर्देशन दिनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले नगर क्षेत्रमा विभिन्न प्राकृतिक प्रकोपको जोखिम रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्धार एवं राहत पुग्ने गरी कार्ययोजना बनाउन उहाँले निर्देशन दिनुभयो ।

चाँगुनारायणका नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने र नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने उहाँको भनाइ छ । कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो । (रासस)