काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोग बीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो । 

राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक संबृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरे । त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमती समेत भएको छ । 

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए । ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो । प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगती, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।