काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । 

राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ ।

भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

उक्त निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृहमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यो सङ्ख्या गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचको भन्दा २० हजारले बढी हो । त्यसबेला एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । 

एक जना उच्च प्रहरी अधिकृतका अनुसार समानुपातिक निर्वाचनसमेत हुने भएकाले यसपटक साविक सङ्ख्यामा थप २० हजार म्यादी प्रहरी थप गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए ।

यसअघि ४० दिनका लागि भर्ना भएको र अहिले पनि सोही अवधिका लागि म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै प्राथमिकता दिने पनि उहाँले जानकारी दिनुभयो ।

निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ ।

प्रहरीले आवश्यक हातहतियार, सवारीसाधन, सञ्चार साधनको माग गरेको छ । सवारी साधनको हकमा खरिद गर्ने भन्ने कुरा भएको एक प्रहरी अधिकृत बताउनुहुन्छ । तर हातहतियार र सञ्चार साधन खरिद गर्ने विषय भने रोकिएको जनाइएको छ । 

यसपटक पनि आपराधिक समूहको गतिविधि नहुने विश्लेषण प्रहरीको छ । दल र तिनका कार्यकर्ताबीच हुने झडप बढी चुनौतीपूर्ण देखिएको प्रहरीको निष्कर्ष छ । तर निर्वाचन आउन अझै १०० दिन बाँकी रहेकाले पनि अहिले नै सबै निक्र्यौल गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।