काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई ३ वर्ष प्रतिबन्ध लागेको छ ।

केही दिन अघि काठमाडौंका मेयर बालेन्द्र साहले पनि फेसबुकमा प्रचण्डको घरबेटीले बाटो नबनाएका कारण काठमाडौंको फोहोर उठाउन गारो भएको बताएका थिए । अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खुमलटाका घरबेटी हुन् ।

सरकारले समयमा काम नसक्ने, निर्माण लागत बढाएर अलपत्र छाड्ने १० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सार्वजनिक सूचना जारी गरी दुई चिनियाँसहित निर्माण कम्पनीलाई नयाँ कुनै खरिद प्रक्रियामा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी गराएको हो ।