एजेन्सी । भारतमा आज अवैध रुपमा बनेका एपेक्स र सियान ध्वस्त पारिँदैछन् । भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुई गगनचुम्बी भवनलाई आज भत्काइँदै छ । 

सो भवन १ सय मिटर र अर्को ९७ मिटर अग्ला छन् । भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती ४० तले दुइटा भवन भत्काउन आदेश दिएको थियो । दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए । सुपरटेकको अवैधानिक निर्माणविरूद्ध  मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ ।

आइतबार साढे २ बजे  झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको छ । बारूदमा आगो लागेको पाँच सेकेन्डमै दुबै टावर ध्वस्त हुने बताइएको छ।

ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ । केहीबेर नजिकै रहेको राजमार्ग बन्द गरिनेछ ।

यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो । सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो ।

सर्वोच्चले मापदण्डविपरीत ती भवन निमार्णका लागि स्वीकृति दिने अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन भनेको छ ।