काठमाडौं । पछिल्लो दिनमा सहकारी ठगी बढिरहेको छ । बचत कर्ताले आफ्नो बचत रकम फिर्ता नपाउने अवस्था नै सिर्जना भएको छ । भने सहकारी पैसा फिर्ता नदिएपछि बचतकर्ताले सहकारीका सञ्चालक र कर्मचारीलाई नै पिट्न थालेका छन् ।

काठमाडौको कलंकीमा रहेको शाश्वत सहकारीको झण्डै ३७ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सोही सहकारीका लेखा समिति संयोजक रहेका उत्तम अर्याल पक्राउ परेका छन् । उनी सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष समेत हुन् ।

शाश्वत सहकारीका मुख्य ३ सञ्चालकको मिलेमतोमा भएको सहकारी हिनामिना प्रकरणमा हालै पक्राउ परेका सेयर लगानीकर्ता संघका अर्यालमाथि ५ करोड ३४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।

उक्त सहकारीको हिनामिनामा संलग्न मुख्य ३ सञ्चालकमध्ये अध्यक्ष राजेन्द्र बस्नेत पुर्पक्षका लागि थुनामा परेका छन् । व्यवस्थापक भीमराज गिरी भने विगत लामोसमयदेखि फरार छन् ।