काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् । उपत्यकामा हैजा संक्रमण बढे सँगै यी स्थानहरु  हैजाको रेडजोनमा परेका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका १३ स्थानीयतह सहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको महाशाखाले जनाएको छ ।