विराटनगर  ।  प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण गरेको छ।  खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले धरान र विराटनगरका दुई जना साफका पूर्व खेलाडीलाई कार्ड उपलब्ध गराएको जानकारी दिए।


गत अषाढ १९ गते विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौँको केएमसीसँग खेलकुद बोर्डले खेलाडीको निःशुल्क उपचारका लागि सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार विराटनगरका ५९ वर्षीय दिनेश कर्ण र धरानका गणेशमान श्रेष्ठलाई कार्ड उपलब्ध गराएको सदस्य सचिव वाग्लेले जानकारी दिए।

कार्ड प्राप्त गर्ने दुवै जना एथ्लेटिक्सका पूर्व खेलाडी हुन्। सन् १९८४ मा काठमाडौँमा सम्पन्न भएको पहिलो साफ खेलकुदमा एथ्लेटिक्समा सहभागिता जनाएका पूर्व खेलाडी कर्णले उपचार कार्ड पाएपछि सुरक्षा महसुस भएको बताए।

पाँच वर्षसम्म खेलाडीको स्वास्थ्य उपचार निःशुल्क हुने भएपछि खेलाडी लाभान्वित हुने उनको बुझाइ छ।  

अर्कोतर्फ, सदस्य सचिव वाग्लेले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै बोर्ड र अस्पतालले संयुक्त रुपमा कार्यक्रम अघि सारेको बताए। ओलम्पियन, एशियन तथा साफ खेलमा सहभागी पुराना खेलाडी तथा नयाँ खेलिरहेका खेलाडी यस कार्यक्रमले लाभान्वित हुने उनको भनाइ छ।

बोर्डका अनुसार हाल प्रदेशभरबाट करिब २३ जना नयाँ–पुराना खेलाडीले स्वास्थ्य उपचार कार्ड बनाउन निवेदन दिएका छन्।

त्यसैगरि काठमाडौँमा ओलम्पियन खेलाडी एशोसिएसनमा करिब ७६ जना खेलाडीले कार्ड बनाउन निवेदन दिएको सदस्य सचिव वाग्लेले जानकारी दिए।

सदस्य सचिव वाग्लेका अनुसार खेलाडीलाई उपचारमा कुनै समस्या नहोस् भन्ने हेतुले कार्ड बनाएर सहजता प्रदान गरिएको बताए।

यसका लागि खेलाडीले अन्तर्राष्ट्रिय खेल खेलेको कुनै प्रमाणपत्र, नागरिकताको फोटोकपी, परिवारका सदस्यको नाता प्रमाणलगायतका कागजपत्र बोर्डलाई उपलब्ध गराउनुपर्ने हुन्छ। सोही आधारमा कार्ड बन्ने र त्यसले अस्पतालमा निःशुल्क उपचार गरिने बोर्डले जनाएको छ।

यद्यपि, उपचारका क्रममा औषधि खरिद र अस्पतालभन्दा बाहिरबाट उपचारमा लाग्ने अन्य सामाग्री भने बिरामीले खरिद गर्नुपर्ने हुन्छ।