काठमाडौं । नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ । निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारवाही गर्ने बताएको हो ।

नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघ भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा नलाने तथा असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने भनेर विज्ञप्ति निकालेको केही बेरमा नै निगमले कारवाही गर्ने भन्दै विज्ञप्ति निकालेको हो ।

के कारवाही हुन्छ व्यवसायीलाई ?

गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै अत्यावश्यक सेवाको सूचीसहित हड्ताल गर्न निषेध गरेको छ ।

आवश्यक सेवा सञ्चालन ऐनअनुसार निषेध गरिएका सेवामा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा उसलाई ६ महिनासम्म कैद वा २०० सय रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

ऐनकै दफा ५ मा निषेध गरिएको कुनै क्षेत्रमा हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिइ राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिबाना वा दुवै सजाय हुनेछ । दफा ६ मा निषेध गरिएको कुनै हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गृहमन्त्रालयको हड्ताल गर्न नपाइनेमध्येको एक सूचीमा पेट्रोलियम पदार्थ (एलपी ग्याँससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा रोक्न नपाइने छ ।