हेटौंडा । हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौंडाका विद्यार्थीहरूको हेटौंडा एकेडेमी सोसल क्लब द्वारा हेटौंडा–२, चौकीटोल स्थित ओम वृद्धाश्रममा आयोजित सहयोगी हातहरु कार्यक्रम मार्फत ओम वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । ओम वृद्धाश्रमम विगत १५ वर्षदेखि मकवानपुर जिल्लामा जेष्ठ नागरिकहरूलाई आश्रय दिदै आइरहेको संस्था हो ।

तपाई एक्लै हुनुहुन्न...भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा हेटौंडा उप–महानगर पालिका वडा नं १ का अध्यक्ष सबिन न्यौपानेले हामी सबै भविष्यका वृद्ध–वृद्धा हौ त्यसैले वृद्ध–वृद्धाको खुशीको लागि आ–आफ्नो ठाउँ बाट सकारात्मक पहल हुनुपर्छ भन्दै स्कूलका विद्यार्थीहरुको अग्रसरतामा यस्ता कार्यक्रम आयोजना हुनु अत्यन्त सुखद कुरा भएको र आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम गर्न हेटौंडा एकेडेमी सोसल क्लबलाई  सफलता मिलोस भन्ने शुभेच्छा प्रकट गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले जेष्ठ नागरिकहरूको सम्मान बिना देश र आउदो पुस्ता सुसंस्कृत हुन नसक्ने हुँदा आ–आफ्नो परिवार र समुदायमा जेष्ठ नागरिक प्रति सम्मान र सेवाभाव वृद्धिहुने कार्य गर्नुपर्ने बताए ।

उक्त कार्यक्रमलाई हेटौंडा एकेडेमीकी प्राचार्य गौरीदेवी चिमरिया, ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ समेत सम्बोधन गरेका थिए ।