काठमाडौं । आठौँ साफ खेलकुदमा बक्सिङ खेलमा रजत पदक जितेका रामकुमार भट्टराईको डेंगु संक्रमणबाट निधन भएको छ ।   ५१ वर्षको उमेरमा महाराजगञ्जस्थित मनमोहन अस्पतालमा शुक्रवार बेलुकी उनको निधन भएको हो । 

आइसीयूमा राखेर उपचार गरिए पनि उनको होस खुल्न सकेन । स्वास्थ्य अवस्था जटिल हुँदै तेस्रो दिनमै निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । शुक्रवार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

भट्टराईले सन् १९९९ मा नेपालमै सम्पन्न भएको साफ खेलकुदमा बक्सिङको हेभिवेटतर्फ रजत पदक जितेका थिए । त्यसको केही समयपछि उनी खेलबाट अलग भए । हाल उनी व्यापार–व्यवसायमा संलग्न थिए ।

दुखद संयोग यो छ कि, सन् १९९९ को साफमा बक्सिङमै रजत पदक जितेका अर्का खेलाडी हरिबहादुर केसीको गत वर्ष कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।