काठमाडौं । बैंकले आफु खुसी व्याजदर वृद्धि गरेपछि उद्योगी र व्यवसायीहरु आन्दोलनमा नै जाने अवस्थाको सिर्जना भएको छ । ऋणको व्याजदर बैंकहरुले १८ प्रतिशत भन्दा धेरै बनाएपछि आन्दोल नै सुरु भएको हो ।

रुपन्देहीका उद्योग वाणिज्य संघहरुले बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदर घटाउन तथा असोज मसान्तसम्ममा तिर्नुपर्ने किस्ता तथा व्याज बुझाउने समयावधी थप गर्न माग गरेका छन् ।

रुपन्देहीमा रहेका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघले आइतबार संयुक्त विज्ञप्ती जारी गरी कोभिड–१९ महामारीसँगै कर्जामा तरलता अभावले मार खेपिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत दिनुको साटो चर्को व्याजदर थोपरेर बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै एकल विन्दुमा व्याजदर कायम गर्न माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी (माधव) भण्डारी, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी र सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

नेपला उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पनि व्याजदर घटाउनका लागि नेपाल राष्ट्र बैंक धाउन थालेका छन् । लोनको व्याजदर वृद्धि भएपछि घटाउनका लागि भन्दै बैंक जान थालेका हुन् ।