ललितपुर  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमभक्त महर्जनले नख्खुदेखि भैँसेपाटीको उकालो हुँदै सैँबु आवास गेटसम्मको सडक कालोपत्र गरिने वचनवद्धता जनाउनुभएको छ । 

आसन्न निर्वाचनमा आफूले विजय हासिल गरे सो अनुरुपको योजना पास गराइ सो कामलाई पूर्णता दिइने उहाँको भनाई छ । उक्त सडक धुलाम्मे भएर यात्रा गर्न निकै कष्टकर भइरहेको महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको सडक ६ वर्ष अघिदेखि जीर्ण अवस्थामा रहँदा सो बाटोलाई मर्मत तथा सुधार र कालोपत्र गर्न कसैले चासो देखाएनन ।

 म निर्वाचित भएपछि दैनिक धुलो खानुपर्ने बाध्यतालाई अन्त्य गराउनेछु ।” सो सडकका कारण स्थानीय जनताका साथै यात्रीको स्वास्थ्यमा पनि निकै असर गरिरहेको गुनासो आउने गरेको महर्जनले दुखेसो गर्नुभयो । 

“यस सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा स्थानीय जनताका घर मात्रै नभएर कोठा हुँदै भान्छामा समेत धुलो र हिलो पुग्ने गरेको छ । मात्र एक किलोमिटर जीर्ण रहेको यस सडकलाई कसैले पनि मर्मत तर्फ चासो नदिँदा मैले पूर्णता दिने अठोट गरेको हुँ”, उहाँले थप्नुभयो । 

महानगरपालिका भित्रका अन्य सहायक सडकलाई पनि आफूले छिट्टै मर्मत तथा सुधार र कालोपत्र गर्ने नीति बनाउने महर्जनले घोषणा गर्नुभयो । 

उम्मेदवार प्रेमभक्त महर्जन बाबु प्रेम महर्जन र आमा बेखामाया महर्जनको सन्तानको रुपमा विं सं २०२१ भदौ ३१ गते जन्मेका हुन् । महर्जनको राजनीतिक यात्रा २०३८ सालदेखि सुरु भयो । २०३८ सालतिर तत्कालीन बुङ्गमती गाउँमा वामपन्थी नेताहरु आएर बस्ने भएकाले उहाँ त्यहाँबाट राजनीतिमा आकर्षित हुनुभएको थियो । 

विं सं २०३८ सालमा नेपाल प्रगतिशिल विद्यार्थी युनियन केन्द्रीय कमिटीको सदस्य भएका महर्जन २०४३ सालमा सत्याग्रह आन्दोलन चर्किदा सोमा भाग लिएर तीन महिना भद्रगोल जेल समेत पर्नु भएको थियो । 

२०४६ सालमा ललितपुरमै बसी यहाँका नेताहरुको सहयोग र साथमा धेरै आन्दोलन चर्काएको बताउँदै महर्जनले सो पछि नेपालमा संवैधानिक राजतन्त्र बहुदलीय व्यवस्थाको स्थापना भएको जानकारी गराउनुभयो । 

२०४९ सालमा शिक्षण पेशामा संलग्न भएका महर्जनले बुङ्गमतीको आद्रर्श शौल माध्यामिक विद्यालय, भक्तपुरको आद्रर्श विद्यालयल, साँगाको दिपेन्द्र पुलिस स्कुल, बुङ्मतीको सहकारी मार्फत सञ्चालित त्रिरत्न सहकारी विद्यालयमा प्रधानाध्यापकको रुपमा समेत भूमिका निर्वाह गर्नुभइसकेको छ । 

महर्जन होमस्टे महासङ्घ वागमती कमिटिको उपाध्यक्ष, एग्रो टुुरिजमको अवधारणा अनुरुप गोलभेडा उत्पादन गर्ने व्यवसायी, २०७२ सालको भुकम्पका बेला विभिन्न सङघसंस्थासँग मिलेर विभिन्न उद्धार र राहतको काम गर्ने व्यक्तित्व, सैँबु भैँसेपाटीका जनतालाई झण्डै रु दुई करोड खर्चमा सैँबुको पानी पोखरीबाट बुङ्गमतीसम्म ६ इन्चको छुट्टै पाइपलाइनको व्यवस्था गरी पानी खुवाउने महान व्यक्तित्वका साथै बुङ्गमती क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने योजना बमोजिमको मौलिक घर बनाएर प्रेरणा छर्ने आद्रर्श नागरिकका रुपमा समेत परिचित हुनुहुन्छ । 

२०४९ साल र २०५४ सालमा दुई पटक ठूलो मतान्तरको साथ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट विजय हासिल गरेका महर्जन हाल भने उम्मेदवारको रुपमा खडा हुनु भएको छ ।