काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरु अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन् ।

ब्याजदर एक अंकमा हुनु पर्ने बताएको महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ । करोडौं रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ । संकटको बेलामा सामान्य मानवियता समेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनु पर्ने बताएको छ ।

‘संकटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोशिस गरेको पाइएको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनु पर्छ ।’
बैंकहरुले ओडी लगायतका कर्जा ठप्पै बनाउदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

ब्याजदरमाथि हस्तक्षेप मूख्य एजेण्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘ उद्योगी व्यवसायीहरुलाई ऋण चुक्ताका लागि अनावश्यक दवाव दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’