काठमाडौं । अहिले बैंक तथा वित्तिय संस्थामा लाभांश घोषणा गर्न लहर सुरु भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरणको लागि प्रस्ताव गर्न थालेको छन् । कात्तिक ३० गतेसम्म एक पूर्वाधार बैंक, एक विकास बैंक र १० वटा वाणिज्य बैंक गरेर कुल १२ वटा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव तथा घोषणा गरेका हुन् ।

दुई बैंकको लाभांश पारित भइसकेको छ भने १० वटाको पारित हुन बाँकी छ । पारित हुन बाँकीमा स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई, कुमारी, एनसीसी, सानिमा, गरिमा विकास बैंक र नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेका छन् ।


हालसम्म लाभांश घोषणा गर्नमा बैंक अफ काठमाण्डू सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा परेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यद्यपि यो लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनश सेयर र १२.५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश घोषणा गरको थियो ।

बढी लाभांश घोषणा गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश (१३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांस गत वर्षकोभन्दा दोब्बरले बढी हो । बैंकले गत वर्ष १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सर्वाधिक लाभांश घोषणा गर्ने बैंकको तेश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश दुई वर्ष यताकै उच्च हो । बैंकले यसअघि १० प्रतिशत बोनश सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, चौथो स्थानमा गरिमा विकास बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश गत वर्षको भन्दा कम हो । बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, पाँचौं स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) घोषणा गरेको हो । बैंकले गत वर्ष १३.५ प्रतिशत लाभांश घाेषणा गरेकाे थियाे ।

सर्वाधिक लाभांश घोषणा गर्ने छैटौं बैंकमा कुमारी रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर पारित समेत गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो । बैंकल गत वर्ष ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो । बैंकले गत वर्ष ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो । बैंकले गत वर्ष १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो जुन बैंकको १६ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १० गते शनिबार काठमाडौं अनुपम फुडल्यान्ड काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । सभाले ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।