ललितपुर।  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । मङ्सिर ४ गते हुने निर्वाचनको  लागि  प्रचारप्रसारको समय पनि अन्तिम चरणमा छ।  राजनीतिक दलका उम्मेदवारहरुले घरदैलोको कार्यक्रमहरु पनि लगभग सकाईसकेका छन्।  

 

ललितपुर निर्वाचन क्षेत्र नं ३ ख बाट बागमती प्रदेश सभाको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका एमाले ललितपुरका उपाध्यक्ष प्रेमभक्त महर्जन निर्वाचनको घरदैलो अन्तिम अवस्थामा पुगिराख्दा आफू विजयको माला पहिर्याउन मात्र बाँकी रहेको दावी गर्छन।  ललितपुर महानगरपालिका स्थित बुङ्गमतीको वासिन्दा रहेका महर्जन यसपटक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ (मलेखु) सँग चुनावी प्रतिष्पर्धामा छन्। 

 

कला, संस्कृति, भेषभुषा, रहनसहन र सुन्दर दृष्यले भरिपूर्ण यस क्षेत्रलाई विश्व सामु चिनाउन विशेष कार्यक्रम ल्याउन पहल गर्ने,पर्यटकीय नगरी ललितपुरको पहिचान बढाउन हेरिटेज होटल तथा होमस्टेलाई प्रर्बद्धन गर्ने, परम्परागत ख्यातिप्राप्त वस्तुहरुलाई ब्राण्डिङ गर्न पहल गर्ने, नेवारी संस्कृति, कला, रहनसहन र परम्परालाई पर्यटन र जिविकोपार्जनमा सहयोग पुग्नेगरी आवश्यक नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका क्षेत्रका कामहरु गर्ने योजना र प्रतिबद्धताहरु लिएर महर्जन चुनावी मैदानमा छन्। 

 

काठमाडौं उपत्यकाको रैथाने ज्यापू (महर्जन) परिवारमा जन्मिएका प्रेमभक्त महर्जन २०३६ सालको विद्यार्थी आन्दोलनबाट विद्यार्थी सङ्गठनमा आवद्ध भई राजनीतिमा होमिएका हुन्।  निरंकुश पंचायती व्यवस्था विरोधी आन्दोलनमा लागे वापत पटक पटक जेल परेका महर्जन हाल नेकपा एमाले  ललितपुर जिल्ला कमिटीका उपाध्यक्ष समेत हुन्  ।  २०४९ र २०५४ सालमा बुंगमती गाविस अध्यक्ष पदमा निर्वाचित भई उत्कृष्ट सेवा गरेको अनुभव रहेका उनले तत्कालीन कार्यविनायक नगरपालिकामा ( एमाले ) को तर्फबाट सर्वदलीय संयन्त्रमा प्रतिनिधित्व गरेका थिए । बिएससी उत्तीर्ण तथा ग्रामिण विकासमा स्नात्तकोत्तर तह पूरा गरेका महर्जनले विभिन्न विद्यालयहरुमा करीव १० वर्ष अध्यापनको समेत अनुभव बटुलेका छन्  । महर्जन आदर्श सौलः महाविद्यालयको वर्तमान  व्यवस्थापन समितिमा क्रियाशील समेत रहेका छन् । 

 

महर्जन दर्जनौ सामाजिक संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारीमा आबद्ध समेत रहेका छन्  । सामुहिक अभियान,बुङ्गमती पुनर्निर्माण तथा विकास परिषद, आदर्श सौल महाविद्यालय तथा बुङ्गमती सामुदायिक अध्ययन केन्द्रको अध्यक्षसमेत रहेका उनी सहकारी समाज बुङ्गमती लगायत विभिन्न सहकारीमा आवद्ध छन् । २०७२ सालको महाभुकम्पबाट पीडित जनसमुदायलाई तत्काल राहत प्रदान गर्न सक्रिय भूमिका निर्वाह गरेका महर्जन उतिबेला  भुकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि बुङ्गमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद मार्फत अहोरात्र सक्रिय रहेका थिए  । राष्ट्रिय पर्यटन सहकारी संघको केन्द्रिय सचिव तथा होमस्टे महासंघ बागमती प्रदेशको उपाध्यक्ष रहेका उनले आफ्नो क्षेत्र बुङ्गमतीमा होमस्टेको अवधारणा ल्याई पर्यटन तथा स्थानीय व्यवसाय प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुर्याएको कारण आम जनमानसमा परिचित रहेका छन्। 

 

ललितपुर क्षेत्र नं ३ को ख मा ललितपुर महानगरपालिकाका १,२,३,४,१०,२०,१८,२५,२१,,२२,गरी १० वटा वडाहरु पर्दछन।  गत २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन बाम गठबन्धनबाट एमालेकै जीवन खड्का निर्वाचित भएका थिए।  तर यसपटक भने उतिबेला बाम गठबन्धनमा रहेको माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी कांग्रेससंगको बाम लोकतान्त्रिक गठबन्धनमासहभागी छन्। गठबन्धनका बाबजुत आफ्नो सामाजिक क्षेत्रको ख्याति र व्यक्तिगत रुपमा पनि अधिकांश मतदाताले आफूलाई मतदान गर्ने हुँदा आफ्नो जीत निश्चित भएको प्रेमभक्त महर्जनको दावी छ।