मुगु ।  चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । 

बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था नभएको पीडित शेरसिंह भर्गीले बताए । गाउँमा घर पहिरोले पुरियो, अब बस्न कता जाने होला भन्ने चिन्ताले सताएको उनको गुनासो छ । 

त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन् । बाढी पहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका बान्दिालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरुले बताएका छन् । 

जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको  त्रिपालमुनि बस्दै आएकी बालिकन्या बोहराले बताईन् । न्यानो कपडा समेत छैन, कहिँकतैबाट सहयोग समेन नपाइएको उनले बताइन् । 

चिसो मौसम सुरुभएसँगै सालीमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन् । छायाँनाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन् । स्थानीयमा आखाँ पाक्ने, पेट दुःख्ने, टाउँको दुःख्नेलगायत समस्या देखा परेको स्थानीय बेलधरा कुमाइले बताए । 

असोजमा गएको पहिरोका कारण छायाँनाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय बिस्थापित भएका थिए । विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीयले बताएका छन् । 

पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो  । नवनिर्वाचित सङ्घीय सांसद ऐनबहादुर शाही र प्रदेशसभा सदस्य जितबहादुर मल्लले पहिरोबाट बिस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताउनुभएको छ ।