काठमाडौं ।  विगत लामो समय देखि नेपाली सेनामा उसु प्रशिक्षक भै नेपाली सेनाको खेलकुद क्षेत्रमा अतुलनीय योगदान गर्दै आएका प्रशिक्षक राजिव महर्जलाई आज एक कार्यक्रममा प्रधान सेनापति द्वारा प्रधान सेनापति प्रशंसा पदकबाट सम्मान गरिएको  छ। 

हालै सम्पन्न बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसु खेलमा सेनालाई टिम च्याम्पियन बनाउन सफल प्रशिक्षक महर्जनले यस अघि पनि सेनालाई धेरै पटक टिम च्याम्पियन बनाएका छन् । खेलाडी जीवनको सन्यास पछि प्रशिक्षणमा लागेका अन्तर्राष्ट्रिय पदक विजेता महर्जनले नेपाली सेनाको उसु टिम सम्हालेको छोटो समयमै उत्कृष्ट नतिजा दिदै आएका छन् । 

नेपाली सेनाका खेलाडीहरुले उनकै प्रशिक्षणमा राष्ट्रिय च्याम्पियनमात्र नभई दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग( तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न पदक हात पार्न सफल भएका छन् ।

नेपाली खेलकुदको मेरुदण्डको रुपमा रहेको नेपाली सेनाको खेलकुदलाई अघि बढाउन एक कुशल प्रशिक्षकको भुमिका निर्वाह गर्दै आएका महर्जलाई नेपाली सेनाले उनको कामको कदर गर्दै यस पदकबाट विभूषित गरेको छ। सम्मान पछि महर्जनले अबका दिनमा पनि नेपाली सेनाले उसु खेलमा धेरै भन्दा धेरै पदक लेराउने र यसको लागि आफु दत्तचित्त भई लाग्ने बताए ।