काठमाडौं । सामान्य मानिसले आफ्नो जिवनकालामा नै ५० लाख कमाउन गाह्रो हुन्छ । तर, गर्भनर महाप्रसाद अधिकारीले गत आवमा तलब, बैठक भत्ता र विभिन्न सेवा सुविधा वापत ४९ लाख ५ हजार २ सय ५५ रूपैयाँ लिएका छन् । यो तथ्यांक नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्रै सार्वजनिक गरेको हो ।
 
गभर्नर अधिकारीले तलब वापत १४ लाख १८ हजार ४ सय, बोर्ड बैठक भत्ताबापत ३ लाख ५ हजार रूपैयाँ र अन्य सेवा सुविधाको रूपमा ३१ लाख ८१ हजार ८५५ रूपैयाँ बुझेका छन् ।

नेपाल राष्ट्र बैंकबाट तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीले सञ्चालक समितिको बैठक भत्ता मात्रै गत आवमा  ७ लाख ४३ हजार ४२५ रूपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा मरासिनी अर्थसचिव भएको बेला राष्ट्र बैंकबाट सो रकम भत्ता तथा अन्य सेवा सुविधाको रूपमा लिएको उल्लेख छ ।

बोर्ड बैठकमा प्रतिबैठक ९ हजार भुक्तानी दिँदै आएकोमा मंसिर १ बाट यसलाई ५ हजारमा झारिएको छ । 

डेपुटी गर्भनर डा. निलम ढुंगानाले एक वर्षमा १२ लाख ६९ हजार ६ सय तलब बुझेकी छन् । बैठकभत्ताबापत २ लाख ९३ हजार बुझेकी छन् भने अन्य सेवा सुविधाको रूपमा २७ लाख १७ हजार ५ सय १३ रूपैयाँ लिएकी छन् । यता अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलबबापत १२ लाख ६९ हजार ६ सय, बैठक भत्ताबापत २ लाख ९६ हजार र अन्य सेवा सुविधामा २६ लाख ३६ हजार ४ सय १७ रूपैयाँ बुझेका छन् ।

गभर्नर, दुई डेपुटी गभर्नर र अन्य सञ्चालक समितिमा सदस्य गरी १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ तलब भत्ता लिएको केन्द्रीय बैंकले जनाएको छ ।