
काठमाडौं । राजनीतिक परिवर्तन, सरकार फेरबदल भए पनि नेपालमा रोजगारीका अवसर पाउने समय कुनै वर्ष आउन सकेको छैन । जितसुकै राजनीितक पिरवर्तन भए पनि रोजगारीको अवसर नहुँदा लाखौं जनशक्ति विदेश पस्न बाध्य भएको छ।
नेपालमा उद्योगधन्धा नहुनु र भएका पनि सञ्चालनमा नहुँदा पछिल्लो समय रोजगारीका अवसरमा ठूलो कटौती हुन थालेको सरकारी निकायले नै बताउँदै छन्। सरकारले विदेशको बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिए पनि रोजगारी खोजीमा विदेशिनेको संख्या बढिरहेको हो।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ४ लाख नेपाली रोजगारीका लागि मलेसिया, खाडीलगायत मुलुकमा गएका छन्। यो तथ्यांक साउनदेखि पुससम्मको हो।
विभागका अनुसार आव २०७९र८० को पहिलो ६ महिनामा ३ लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएका छन्। कामको खोजीमा विदेश जानेमध्ये सबैभन्दा धेरै मलेसिया, कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमानलगायत देशमा जानेको हिस्सा ८० प्रतिशत छ। बाँकी थोरै संख्याको हिस्सा अन्य देशमा गएको तथ्यांक विभागको छ।
नवनियुक्त श्रम डीपी अर्यालले मंगलबार पद वहालीकै क्रममा बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरे पनि स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या नियाल्दा मन्त्रीको भनाइ फेल खाने देखिन्छ।
पछिल्लो समय १२० देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर नेपाली नागरिक पुगेका छन्। श्रम स्वीकृति नलिई जानेको संख्या गणनै छैन। अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन्।
आव २०७८÷७९ मा ६ लाख ३० हजार कामकै खोजीमा विदेशिएकामा चालू आवको ६ महिनामै करिब ४ लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका हुन्। चालू आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मंसिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए।
Facebook Comments