ओखलढुंगा । ओखलढुंगामा धागो, जडीबुटीको तेल निकाल्ने उद्योग सञ्चालन भएको छ । जिल्लाको चम्पादेवि गाउँपालिका ७ फुलबारीमा उद्योग शुरु गरिएको हो ।

फुलबारी कृषी उद्योग नामको उद्योग दर्ता गरी पुष २७ गते देखि धागो र तेल उत्पादन परिक्षण गरिएको उद्योगका व्यावस्थापक निर्देशक कृष्ण थापाले जानकारी दिए । अलैंचीको बोट, केराको बोट, अल्लो, हात्तिबारबाट कपडाको लागि प्राकृतिक फाइबर र तितेपाती, बेसार, टिम्मुरबाट तेल उत्पादन परिक्षण सफल भएको निर्देशक थापाले बताए ।


खेर गईरहेको अलैंची र केराको बोट, वनमा पाईने हात्तिबार, अल्लोको बोटबाट कपडाको लागि गुणस्तरीय प्राकृतिक फाईबर विदेशमा समेत निर्यात गर्न सकिने थापाले बताए । तितेपाती, बेसार र टिम्मुरबाट निकालिने जडीबुटी तेल पनि राम्रो दाममा बिक्रि गर्न सकिने थापाको भनाई छ ।

फुलबारीमा बिजुली नपुगेकाले उद्योगका लागि जेनेरेटरबाट विभिन्न किसिमका ६ वटा मेसिन सञ्चालन गरिएको छ । उक्त उद्योग स्थानिय ३ जना महिलाहरुको करिब १ करोड संयुक्त  लगानीमा सञ्चालन गरिएको हो ।

उद्योग सञ्चालकमा स्थानिय शोभा कार्की, पुष्पा थापा र तारा खड्का रहेका छन् । सञ्चालन शोभा कार्की राजनीति कर्मी पनि हुन । गत मंसिर ४ गते भएको निर्वाचनमा नेपाल स्वतन्त्र पार्टीबाट ओखलढुंगाका प्रतिनिधी सभाका उम्मेदवारी दिएका थिए ।

उद्योग सञ्चालनको लागि ४ जना कर्मचारी नियुक्त गरिएको छ भने दैनिक रुपमा ९÷१० जना महिलाहरुले दैनिक ज्यालादारीमा काम पाईरहेको उद्योग सञ्चालक कार्कीले बताईन । उनका अनुसार महिलाहरुले अल्लोको पोक्रा निकाल्ने लगायतका कार्य गरेर दिनमा ८ सयदेखि एक हजार रुपैयाँ कमाउने गरेका छन ।

कार्कीले यस्ता किसिमका उद्योग जिल्लाको सबै गाउँपालिकामा स्थापना गर्ने आफुहरुको योजना रहेको  बताईन । उद्योगको स्थापना गरी युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ आफूहरु अघि बढेको कार्कीको भनाई छ ।

उद्योग सञ्चालन शुरु गरिएसँगै सुनकोशी, लिखुका युवाहरुले चासो राखी माग गर्दै आएको व्यावस्थापक थापाले बताए ।