जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका स्वास्थ्यकेन्द्रमा औषधि सकिएको छ । गाउापालिकामा रहेका स्वास्थ्यसंस्थामा पाँच महिनादेखि औषधि सकिएको हो ।

एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव पनि अहिलेसम्म पनि खरिद गरिएको छैन ।

बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर गाउँपालिकामा औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ ।

दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताए । औषधि छिट्टै आउँदै गरेको र स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना रहेको उनले बताए । 

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । दमले  सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको  जुनीचाँदे–११ का कैलो नेपालीले बताए  । स्वास्थ्य संस्था कर्मचारीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका भए पनि  पैसा नभएपछि खाली हात घर फर्किएको उनको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गरे । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बनेका उनी उपचार गर्न स्वास्थ्यसंस्था पुगेपनि  डाक्टरले सिटामोलसमेत नदिएको गुनासो गर्छन् ।  चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।

एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रलाई पाँच वर्षपहिला राष्ट्रिय बीमा संस्थानले १६ लाखको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए  । 

विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको उनले बताए । विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उनको भनाइ छ । स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता छ ।