विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराट मेडिकल कलेजका सञ्चालक डा। ज्ञानेन्द्रमानसिंह कार्कीलाई पनि मतियारको रुपमा मुद्दा चलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरूद्ध सोमबार अदालतमा मुद्दा दायर गर्दा कार्कीविरुद्ध पनि मतियारको रुपमा अभियोग दर्ता गरेको हो ।

अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आधिकारिक निकायबाट प्राप्त नभएको प्रोफेसर पदको दुरुपयोग गरेकोमा गिरिविरुद्ध मुद्दा दर्ता भएको हो । सो कार्यमा कार्की मतियार रहेको अख्तियारको ठहर छ ।

उपकुलपति गिरिले बद्नियतसाथ कुनैपनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा प्रोफेसर पद प्रयोग गर्नु अख्तियारको दुरुपयोग भएको अभियोगपत्रमा उल्लेख छ । गिरि प्रोफेसर रहेको भनि विराट मेडिकल कलेजले नियुक्ति दिएकोले कार्कीलाई मतियारको रुपमा अभियोग दायर गरिएको हो ।

अख्तियारले कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ । यस्तै गिरिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय मागदावी गरिएको छ । ऐनको दफा २४ बमोजिमको गिरिलाई थप सजाय समेतको माग दावी अख्तियारले गरेको छ ।