
काठमाण्डाैं । खराब कर्जा बढ्दा वाणिज्य बैंकहरुकाे नाफा प्रभावित भएको छ। बैंकहरुको कर्जा नउठ्दा धेरै बैंकको कर्जा नोक्सानी बढेको छ, जसले गर्दा दोस्रो त्रैमासमा बैंकको नाफा प्रभावित भएको देखिन्छ।
शनिबार २० वटा बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तिय विवरण अनुसार धेरै बैंकले नाफा बढाउन नसकेको देखिन्छ। गत वर्षको यसै अवधिको तुलनामा आधा दर्जन बढी बैंकको नाफा घटेको देखिन्छ।
सनराइज बैंक, सिटिजन्स् बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन् भने बाँकी १४ बैंकको भने नाफा बढेको छ।
२० वाणिज्य बैंकको नाफा औषतमा ११.८७ प्रतिशतले बढेको देखिन्छ। यद्यपि अझै केहि बैंकले वित्तीय विवरण प्रकाशित गर्न बाँकी नै रहेकोले केहि फरक तथ्याँक आउन सक्छ।
समिक्ष अवधिमा एभरेष्ट बैंकको नाफा सबैभन्दा धेरै बढेको छ। उसको खुद नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। कृषि विकास बैंकको नाफा भने सबैभन्दा बढी प्रभावित भएको छ। गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको बैंक चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ। बैंकको खराब कर्जा बढ्दा उसको नाफामा दबाव परेको विवरणमा देखिन्छ।
सबैभन्दा धेरै नाफा कसकाे ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको विवरण अनुसार पुस मशान्तसम्म्मा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५६.६७ प्रतिशतले धेरै हो। बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेको कारणले पनि उसको नाफा धेरै बढेको देखिन्छ।
यस्तै एनआइसि एशिया बैंकले पनि ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएर नविल बैंकलाई पछ्याइरहेको छ। उसले गत वर्षको यसै अवधिको तुलनामा नाफा ३६ प्रतिशतले बढाएको छ।
पूँजीका आधारमा सबैभन्दा ठुलो बैंकले बनेको ग्लोबल आइएमई बैंकले भने पुस मशान्तसम्ममा २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको तुलनामा बैंकको नाफा ४.४२ प्रतिशतले मात्रै बढेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ। अन्य बैंकको भने नाफा २ अर्ब रुपैयाँभन्दा कम छ।
वाणिज्य बैंकहरुको कृषि विकास बैंक १२ करोड रुपैयाँले घाटामा देखिएको छ। सिभिल बैंकले ६३ करोड रुपैयाँ नाफा कमाएको छ भने सनराइज बैंकले ६५ करोड नाफा कमाएको छ।
Facebook Comments