
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संसथाहरुले दुःख दिएको कारण उद्योगी व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।
बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएपछि जिल्ला नगर र बस्तुगत उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले अहिले कुनै पनि उद्योगी व्यवसायीहरुले बढेको ब्याजदर अनुसार कर्जाको ब्याज भूक्तानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
उनले यदि देशका जुनसुकै कुनामा कुनै पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीहरुलाई ‘टर्चर’ दिने काम गरेका छन् भने त्यसको जानकारी आफूलाई गराउन पनि अनुरोध गरेका छन् ।
‘कुनै बैंकले अहिलेको अवस्थामा कसैलाई दुःख दिने काम गरेको छ भने त्यसको जानकारी गाराउनु होला, हामी सहयोग गछौँ’ उनले भने, ‘म उद्योगी व्यवसायी साथीहरुलाई अनुरोध गर्न चाहन्छु, दुःख दिने बैंकको नाम, ब्रान्च र म्यानेजरको नाम र फोन नम्बरसहित हामीलाई जानकारी गराउनुहोला, हामी सहयोग गछौँ ।’
बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् ।
राष्ट्रिय व्यवसायी महासंघले पनि भोली सोमबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम राखेको छ ।
Facebook Comments