ललितपुर । उपत्यकामा आकर्षित भएको जनसंख्याको चापलाई थेग्ने मात्र नभै ललितपुर महानगर बस्नलायक र लोभलाग्दो शहर बन्दै गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभएको छ । ललितपुर चक्रपथ महानगर सफाई अभियानको छैटौं वार्षिकोत्सवका अवसरमा नगरप्रमुख महर्जनले यस्तो बताउनुभएको होृ । आफू नगरप्रमुख निर्वाचित भएदेखि सुरु गरेको सफा र हरियाली शहर सफा र सुन्दर सडक अभियानमा सबैको सहयोगले गर्दा हरियालीयुक्त चक्रपथ र भित्री सडकले ललितपुरको परिचय नै फेरिदिएको नगरप्रमुख महर्जनले बताउनुभयो । 

ललितपुर चक्रपथ महानगर सफाई अभियानको छैटौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले चक्रपथ हेर्दाहेर्दै सफा हरियाली सुन्दर र बाटो हिँड्नेहरुका लागि सवारीसाधन रोकेर फोटो खिच्न लायकको हुँदा आफूलाई आनन्द लागेको बताउनुभयो । 

ललितपुर चक्रपथ महानगर सफाई अभियानका सँयोजक लक्ष्मीप्रसाद गेलालको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता राजु महर्जन, कलाकार किरण केसी., वागडोल विकास समाजका अध्यक्ष राजबहादुर शाही, फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष, जिल्लामा फोहोरमैला व्यवस्थापन एवम् सरसफाइ फोहोरमैला व्यवस्थापन क्षेत्रका अगुवा संघसंस्थाका प्रतिनिधिहरुले चक्रपथ सफाइ अभियानका सन्दर्भमा आफ्ना धारणा राख्नुभएको थियो । स्वच्छ र सफा शहरका लागि सबैको सहकार्य हुनुपर्ने निश्कर्ष निस्किएको अभियानका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरेले बताउनुभयो । अभियानले २५६ हप्ता पूरा गरेको अभियानका सदस्य एवम् सिर्जनसीप सेवा केन्द्रका सहदेव राउतले बताउनुभयो ।