काठमाडौं । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ सेवालाई थप व्यवस्थित बनाउन नयाँ नियमावली जारी गर्दै सञ्चालनको दुरी र सवारीको मापदण्डमा महत्वपूर्ण हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सूचना अनुसार ’गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) (पहिलो संशोधन) नियमावली, २०८२’ माघ १५ गते राजपत्रमा प्रकाशित भएसँगै तुरुन्त लागू भएको छ ।
नयाँ व्यवस्था अनुसार अब दुई पाङ्ग्रे राईड सेयरिङ सवारीले एकपटकमा प्रस्थान बिन्दुदेखि गन्तव्यसम्म बढीमा २० किलोमिटर र चार पाङ्ग्रे सवारीले बढीमा ५० किलोमिटरको दुरीसम्म मात्र सेवा दिन पाउनेछन् । यो सीमाभन्दा बढी दुरीका लागि सेवा खोज्न वा प्राप्त गर्न नसकिने गरी राईड सेयरिङ एपमै प्राविधिक व्यवस्था मिलाउनु पर्ने अनिवार्य सर्त राखिएको छ । सरकारले राईड सेयरिङ सवारीको परिभाषामा समेत स्पष्टता ल्याउँदै अनलाइन प्रणाली मार्फत सेवा दिने यातायात कार्यालयबाट इजाजत प्राप्त दुई पाङ्ग्रे निजी र पाँच सिट भएका चार पाङ्ग्रे सार्वजनिक सवारी साधनलाई मात्र यस श्रेणीमा राखेको छ ।
यसैगरी, सवारी साधनको पहिचानका लागि अनिवार्य गरिएको सङ्केत वा लोगो (क्म्) को मापदण्डमा पनि परिमार्जन गरिएको छ । दुई पाङ्ग्रे सवारीको हकमा कालो पृष्ठभूमिमा पाँच सेन्टिमिटर व्यास भएको वृत्ताकार चिन्हभित्र रातो रङ्गमा डिआर लेखिएको लोगो हुनुपर्नेछ । भने चार पाङ्ग्रेको हकमा १५ सेन्टिमिटर व्यासको चिन्हभित्र ११ सेन्टिमिटर उचाइको डिआर अक्षर राख्नुपर्ने प्रावधान छ । प्रदेश सचिव ई. कमल कुमार अधिकारीद्वारा जारी गरिएको यो नियमावलीले सवारी सञ्चालनको क्षेत्र र सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
Facebook Comments