एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका अरू तीनजनालाई पछि पार्दै पोखरेल विजयी भएका हुन्।

उनी कुल खसेको ७६५ मत मध्ये ३१३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटस्थ प्रतिस्पर्धी इन्द्रमान स्याङ्तानले २६५ मत पाए। यस्तै, अध्यक्षका अन्य प्रतिस्पर्धीहरू लालबहादुर थापा र देवराज रिमालले क्रमशः १६३ र ११ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनील मोक्तानले १९७ मत प्राप्त गरे। उपाध्यक्षका अन्य आकांक्षीहरू भरत दुलालले ३८ मत र ध्रुव चौलागाईंले २६ मत प्राप्त गरे।

सचिवमा सीता विष्ट विजयी भइन्। उनले २९७ मत पाउँदा सचिवका अन्य आकांक्षीहरू मदन दाहालले २५५ र राजन थापाले १७१ मत पाए। यसैगरी, उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामा र उपसचिव महिलातर्फ आरती पाठक विजयी भएका छन्। लामा र पाठक दुवैले समान २४१ मत पाएका छन्।

एमाले मकवानपुरको १२औँ अधिवेशनअन्तर्गत पाँच पदाधिकारीसहित १०५  सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो।