
विराटनगर । महिलाहरुले नेतृत्व गरेर सञ्चालन गरिरहेको मोरङ बेलबारीको नारी विकास सहकारी उदाहरणीय बन्दै गएको छ । ०४९ साल असार २० मा तत्कालीन बेलबारी –१ का १० जना महिलाले गोजी र वाकसको पैसा बचत हुँदैन समूहमा राखे भविष्यमा काम लाग्छ भनेर समूह बनाएका थिए । उनीहरुले मासिक १० रुपैयाँका दरले बचत गर्न थाले । त्यही १० जनाको समूहलाई २०५८ साल माघ १५ गते उनीहरुले संस्था दर्ता गरे । दीपज्योति नारी विकास बचत तथा ऋण सहकारीमा अहिले २५ सयभन्दा बढी सेयर सदस्य छन । बेलबारी नगरपालिका वडा नं. १ मा यसको कार्यालय छ । बेलबारी, सुन्दर हरैंचा नगरपालिका र केराबारी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सहकारीले काम गरिरहेको छ ।
सहकारीमा सञ्चालकदेखि सेयर सदस्य पनि महिला मात्रै छन् । नारी विकास संघ भन्ने संस्थाको प्रेरणामा सहकारी खोलिएको अध्यक्ष पार्वती बरालले बताइन् । यस संस्थाले महिलाहरूलाई प्रौढ शिक्षा पढाउने गथ्र्याे । प्रौढ शिक्षा पढ्न आएका महिलाहरूलाई बचत गर्न सिकाउने उद्देश्यले सुरु गरिएको थियो ।
महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले १० महिलाहरू मिलेर १० रुपैयाँ बचतबाट सुरु गरिएको थियो । १० रुपैयाँ बचतबाट सुरु गरिएको सहकारीमा २० करोडभन्दा बढी बचतकर्ताको बचत छ । महिलाहरूले मासिक २ सय रुपैयाँ बचत गर्न थालेका छन् । २ सयदेखि २ हजारसम्म पनि बचत गर्ने गरेका छन् । एउटा समूहमा ६० जनादेखि ३ सय जनासम्म छन् । यो सहकारी अध्ययन तथा अवलोकन गर्न पोखरा भैरहवा काठमाडौंबाटसमेत आउने गरेका छन् । २०६६ र २०७३ सालको सहकारी दिवसमा डिभिजन सहकारी मोरङले जिल्लाको सर्वाेत्कृष्ट सहकारीको रुपमा यो संस्थालाई पुरस्कृत गरिसकेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यसँग बचत तथा ऋण सँगै विभिन्न सामाजिक, सीपमूलक काम पनि गर्दै आएको छ । सहकारीले सिलाई कटाई, ब्यूटिपार्लर, बेमौसमी तरकारी खेती, प्लम्बिङ, मोटरसाइकल वर्कसप, फर्निचर सम्बन्धी तालिम समेत दिने गरेको छ । सहकारी सहकारी जस्तै चलाउने भए कहिल्यै घाटा नहुने सहकारीका संचालकहरु बताउँछन । बचत उठाएर घर जग्गामा हाल्ने, प्लटिङ गर्ने जस्ता गतिविधिले सहकारी डुब्न थालेको उनीहरुको बुझाइ छ । सहकारीका सिद्धान्तमा रहेर काम गर्ने हो भने गरिब तथा विपन्न परिवारलाई जिवन जिउन सहकारीले ठुलो सहयोग गर्ने अध्यक्ष बराल बताउँछिन ।
सहकारीका बचतकर्ताहरू बचत फिर्ता गर्न गए तुरुन्तै फिर्ता गर्न सकिने उनीहरू बताउँछन् । ‘आर्थिक मन्दीले लगानी गरेको ऋण उठन केही ढिलो हुन थालेको छ’, अध्यक्ष बरालले भनिन ‘तर, बचतकर्ताको बचत नै फिर्ता गर्न समस्या हुन कहिल्यै पनि दिदैनौं ।’ पहिला सहकारी सञ्चालन गर्दा पोथी बासेको, महिलाहरूले के गर्छन् भनेर हियाउने धेरै थिए । उनले भनिन ‘उनीहरुलाई देखाउनका लागि पनि नमुना बनाएर संचालन गर्नुपर्ने छ । महिलाको सहकारी भनेर हेप्नेको संख्या अहिले पनि छ ।’
पारिवारिक सहकारी खोल्ने र बचतकर्ताहरूबाट रकम संकलन गरेर घरजग्गा र अन्य व्यवसायहरूमा लगानी गरेर छिट्टै कमाउने सपना देख्दा सहकारीमा बेतिथि बढेकोे यो संस्थाका सदस्यहरु बताउँछन् । ‘सहकारीका सञ्चालकलाई बचतकर्ताले पनि खबरदारी गरिरहनुपर्छ । संस्था र सेयर सदस्यले पनि साधारण सभामा मात्रै नभई अरु बेला पनि संस्थाको बारेमा चासो दिनुपर्छ । अनुगमन नियमन गर्ने निकायले पनि हेरिरहनुपर्छ अनि मात्रै सहरकारी सहकारी जसरी चल्न सक्छन्’ उनले भनिन ।
Facebook Comments