ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले काठमाडौं उपत्यकामा निर्माण गर्न लागिएको ईशान पूर्व शहरको विद्यमान अवधारणा पर्याप्त छलफलविना आएको भन्दै यसले स्थानीय आदिवासी वस्तीलाई जोखिममा पार्नेतर्फ चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार विहान शहरी विकास मन्त्रालयमा भएको वैठकमा उपमेयर शाक्यले पूर्वयोजना अनुसार मुआब्जा पनि नपाएको र थोरै जग्गा भएकाहरु विस्थापित हुने अवस्था भएकोतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा काठमाडौं उपत्यका विकास प्राधीकरणले आयोजना गरेको छलफलमा उपमेयर शाक्यले खोकना लगायतका क्षेत्रमा रोक्का गरेर राखिएका जग्गाहरु फुक्का गर्ने भन्ने मानसिकतामा ललितपुर महानगरपालिका पुगेको पनि बताउनुभयो । वैठकमा शाक्यले भन्नुभयो –‘दुई चार रोपनी जग्गा भएकाहरुलाई त ठिकै हुन्छ तर ४ आना ८ आना जग्गा भएकाहरुको जग्गा अधिग्रहण गरेर उनीहरुलाई वसोवास विहिन बनाउने कुरा हामी सोच्न सक्दैनौं जनभावना पनि यसो गर्न हुँदैन भन्ने नै छ त्यसैले यस्तो योजना बनाउने बेलामा नै पर्याप्त छलफल पनि नभएकोले कार्यान्वयन कठिन भएको हो ।’

काठमाडौं उपत्यकामा कागेश्वरी मनोहरा नगरपालिका, मनोहरा करिडोर २, मनोहरा करिडोर ३, योजना ४, योजना ५ भनेर काठमाडौं उपत्यकाभित्र नयाँ शहर निर्माण गर्ने गरी सरकारले २०७४ असार ५ मा सरकारले घोषणा गरेको थियो भने जग्गा प्राप्ती कठिन भएको भन्दै आयोजना सुस्त गतीमा रहेको छ ।

भक्तपुरको पूर्व–उत्तर क्षेत्रमा फैलिने काठमाडौं इशान शहरको डिपीआर तयार भइसकेको छ । १ लाख ३ हजार ५०० रोपनी क्षेत्रफलमा फैलिने ईशान काठमाडौं उपत्यकामा प्रस्ताव गरिएका चारवटा शहरमध्ये सबैभन्दा ठूलो हुने छ ।

पूर्वमा नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, मुलपानी, गोठटार र उत्तरतर्फ साँखु बजार क्षेत्रसम्म फैलिने छ । डिपीआरमा यो आयोजनको कूल लागत ३ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निस्किएको छ ।

यो शहरमा २० हजार ४४२ रोपनी क्षेत्रफलमा सडक बन्नेछन् । डीपीआरमा ५ हजार २२० रोपनी जग्गा खुला राख्‍ने प्रस्ताव छ । यस्तै, ५७ हजार ७२० रोपनी जग्गा स्थानीयले घडेरी र प्लटका रुपमा फिर्ता पाउनेछन् ।

यस्तै, स्थानीयले प्रतिकित्ता ३६.९८ प्रतिशत जग्गा आयोजनालाई योगदान गर्नुपर्नेछ भने ६३.०२ प्रतिशत जग्गामात्र प्लटका रुपमा फिर्ता पाउने प्राधिकरणले जनाएको छ । यो आयोजना निर्माण अवधि ७ बर्षको तोकिएको छ ।