काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी तमोर करिडोर सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले दुर्घटनामा ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 

मृत्यु भएका र घाइते भएकाहरूको परिचय भने खुल्न बाँकी छ । घाइते ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम फिदिमबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार तथा व्यवस्थापनका लागि घटनास्थलमा परिचालन गरिएको छ ।