काठमाडौँ । अर्बौं रुपैयाँ बराबरको सेयर कारोबारमा भएको गम्भीर अनियमितता र 'इन्साइडर ट्रेडिङ'को आरोपमा प्रतिष्ठित व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रि–इन्स्योरेन्स र नेपाल रि–इन्स्योरेन्सको सेयरमा अस्वाभाविक चलखेल गरी ठूलो रकम ठगी गरेको उजुरी परेपछि प्रहरीले गोल्छा अर्गनाइजेसनका अध्यक्ष गोल्छालाई नियन्त्रणमा लिएको हो।
नेपाल धितोपत्र बोर्डको अनुसन्धानले गोल्छासहितका केही ठूला लगानीकर्ताले भृकुटी स्टक ब्रोकरमार्फत करिब ३ अर्ब ७३ करोड रुपैयाँको सेयर नियम विपरीत कारोबार गरेको फेला पारेको थियो। बजारमा भित्री सूचना चुहाएर सेयरको मूल्यमा चलखेल गरेको र चेक बाउन्स लगायतका बैंकिङ कसुरमा समेत संलग्नता देखिएको भन्दै उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। यही विवाद चुलिँदै गएपछि उनले केही समयअघि मात्र हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
यसअघि सोही प्रकरणमा मुछिएका अन्य व्यवसायीहरू पक्राउ परिसकेको अवस्थामा गोल्छालाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाएको छ। ठूला व्यावसायिक घरानाका प्रमुख नै सेयर बजारको अवैध चलखेलमा पक्राउ परेपछि अहिले नेपालको आर्थिक र पुँजी बजार क्षेत्रमा ठूलो हलचल पैदा भएको छ। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित आर्थिक अपराधको पाटोबाट समेत विस्तृत छानबिन गरिरहेको जनाएको छ ।
Facebook Comments