काठमाडौं । बिचौलियासँगको साझेदारीको आरोप र राजीनामाको चर्को दबाब झेलिरहेका गृहमन्त्री सुधन गुरुङ यतिबेला सुरक्षा निकायका उच्च अधिकारीहरूसँग निर्णायक छलफलमा जुटेका छन् । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहितका सुरक्षा प्रमुखहरूसँग गृह मन्त्रालयमा इमर्जेन्सी ब्रिफिङ लिइरहेका छन् । केही पुराना र गम्भीर प्रकृतिका भ्रष्टाचारका फाइलहरू खोल्दै उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्ने तयारीस्वरूप यो बैठक बसेको स्रोतको दाबी छ ।
बिचौलिया दीपक भट्टसँगको व्यावसायिक साझेदारीको पोल खुलेपछि गृहमन्त्री यतिबेला रक्षात्मक अवस्थामा देखिएका छन् । तर, सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपलाई प्रायोजित हल्लाको संज्ञा दिए

कुन फाइल खुल्दैछ ?

आजको बैठकमा गृहमन्त्रीले सुरक्षा निकायलाई स्पष्ट लाइन दिएको बुझिएको छ । स्रोत भन्छ, ‘भ्रष्टाचारका केही यस्ता फाइलहरूमाथि छलफल भइरहेको छ, जसले राजनीति र कर्मचारीतन्त्रका ठूला टाउकेहरूलाई तान्न सक्छ ।’

आफूमाथि लागेको आरोपलाई मत्थर पार्न र जनमानसको ध्यान मोड्नका लागि पनि गृहमन्त्रीले अहिले ’एक्सन’ लिन खोजेको विश्लेषण गरिएको छ। सुरक्षा प्रमुखहरूसँगको यो बैठक सकिएलगत्तै केही ठूला व्यक्तिहरूमाथि प्रहरीले छापा मार्न सक्ने वा पक्राउ पुर्जी जारी गर्न सक्ने प्रबल सम्भावना देखिएको छ।