काठमाडौं । प्रतिनिधि सभाको सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यतालिका तय गर्दै आइतबार निर्वाचन गर्ने र सोही दिन पदवहाली गर्ने निर्णय गरेको हो । निर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार अपरान्ह २ बजेका लागि संघीय संसदको बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न संघीय संसद सचिवालयले आज सर्वदलीय बैठक बोलाएको थियो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको उक्त बैठकमा सरकारका प्रतिनिधि सहित सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा देखिएको छ । त्यस्तै नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेपाली कम्युनिष्ट पार्टीको १७, श्रम संस्कृति पार्टीको ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ सिट रहेको छ । यी छ वटै दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । भोलि बोलाइएको सदनको पहिलो बैठकलाई कसरी अघि बढाउने र सभामुख चयनको प्रक्रियालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा आजको बैठकमा विस्तृत छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।
Facebook Comments