काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकार विरुद्ध सडक र सदन दुवै मोर्चाबाट सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकार 'राज्य आतंक' तर्फ उन्मुख भएको ठहर गर्दै चैत २५ देखि वैशाख १२ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

सरकारमाथि 'राज्य आतंक' को आरोप
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभयो। एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथिको कारबाहीलाई 'प्रतिशोधपूर्ण र बदला-प्रेरित' भन्दै यसको कडा शब्दमा भत्र्सना गरेको छ।

एमाले सचिवालय बैठकका प्रमुख निर्णय र आन्दोलनका कार्यतालिका:
एमालेले वडा तहदेखि केन्द्रसम्मै आन्दोलनको राप बढाउने गरी निम्न कार्यक्रम तय गरेको छ:

चैत २५ सम्म: जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेलाहरू सम्पन्न गर्ने।

चैत २८ गते: देशभरका सबै पालिकाहरूमा विरोध प्रदर्शन गर्ने।

वैशाख ३ गते: वडा तहसम्म कार्यकर्ता र नागरिक भेला आयोजना गर्ने।

वैशाख ७ गते: सबै प्रदेश राजधानीहरूमा वृहत् प्रदर्शन गर्ने।

वैशाख १२ गते: संघीय राजधानी काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने।

जिम्मेवारी बाँडफाँट र संसदीय मोर्चा
आन्दोलन र राजनीतिक संवादलाई प्रभावकारी बनाउन एमालेले नेताहरूको कार्यविभाजन समेत गरेको छ:

नागरिक संवाद: उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादको जिम्मेवारी दिइएको छ।

संसदीय मोर्चा: संसदभित्र दलहरूसँग सहकार्य र प्रस्तुतिको कमान्ड उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई तोकिएको छ।

भोलि संसदीय दलको बैठक
आन्दोलनका थप रणनीति तय गर्न भोलि (बुधबार) दिउँसो ३ बजे एमाले संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा बोलाइएको छ। साथै, भोलि बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक समेत बस्दैछ।

सरकारले जनसंगठन र विद्यार्थीहरूमाथि गरेको धरपकड विरुद्ध सबै भ्रातृ संगठनहरूलाई आ-आफ्नो ढंगले सडकमा उत्रिन एमालेले निर्देशन दिएको छ। आन्दोलनको ठोस खाका कोर्न छिट्टै केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो।