काठमाडौं । मुलुकको ढुकुटी रित्त्याएर विदेशमा अवैध सम्पत्ति थुपार्ने सफेदपोश अपराधीहरू विरुद्ध गृहमन्त्री सुधन गुरुङले कडा एक्सन सुरु गरेका छन् । नेपाली नागरिकहरूले अवैध रूपमा आर्जन गरेको अर्बौँ रुपैयाँ स्वीस बैंकका गोप्य खाताहरूमा सुरक्षित राखेको गम्भीर आशंकाबीच गृहमन्त्री गुरुङले नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतलाई मन्त्रालयमै बोलाएर यस विषयमा गम्भीर अनुसन्धान गर्न र तथ्य विवरण उपलब्ध गराउन ठोस आग्रह गरेका हुन् ।
लामो समयदेखि चर्चा र गफको विषय मात्र बनेको स्वीस बैंकको नेपाली पैसालाई यसपटक गृहमन्त्रीले प्रत्यक्ष कूटनीतिक हस्तक्षेपको एजेन्डा बताएका हुन् । भ्रष्टाचार र तस्करीको पैसा हुण्डीमार्फत विदेश पु¥याएर सुरक्षित राखिएको सूचनाका आधारमा सरकारले अहिले अन्तर्राष्ट्रिय समन्वयको बाटो रोजेको देखिन्छ । भेटका क्रममा मन्त्री गुरुङले स्पष्ट शब्दमा राष्ट्रको सम्पत्ति दोहन गरेर बाहिर लैजाने जोकोहीलाई पनि उन्मुक्ति दिइने छैन । स्वीस सरकारले यस प्रक्रियामा नेपाललाई पारदर्शी ढंगले सहयोग गर्नैपर्छ ।
यो कदमले विशेषगरी सत्ता र शक्तिको आडमा अकुत सम्पत्ति कमाएर विदेश पु¥याउने राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारी वृत्तमा ठूलो हलचल पैदा गरिदिएको छ । सरकारले केवल आग्रह मात्र गरेको छैन । बरु अवैध धनको स्रोत र त्यसको ट्रान्जेक्सन हिस्ट्री खोज्न कडा कूटनीतिक पत्राचारको तयारी समेत गरेको बुझिएको छ । यदि स्वीस दूतावासमार्फत ती खातावालाहरूको विवरण सार्वजनिक भएमा, यो नेपालको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय र राजनीतिक विस्फोट हुने निश्चित छ । सुशासनको नारा दिइरहेको वर्तमान सरकारले यो बोल्ड कदमलाई निष्कर्षमा पु¥याउन सक्छ वा सक्दैन भन्ने विषय अहिले आम चासोको केन्द्र बनेको छ ।
Facebook Comments