काठमाडौं ।पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित बास बस्न गएको भोटेकोशी हेली रिसोर्टबाट प्रहरीले सीसीटीभी फुटेज र कर्मचारीका मोबाइल फोन नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक पुगेर रिसोर्टका उपकरण र कार्यरत कर्मचारीका व्यक्तिगत मोबाइल बलपूर्वक जफत गरेको हो।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले आफ्नो टोली रिसोर्ट पुगेको स्वीकार गरेका छन्। यद्यपि, उनले यो हाइप्रोफाइल अपरेसनलाई ढाकछोप गर्दै कुनै चोरीको घटनाको अनुसन्धानका लागि सामान ल्याइएको दाबी गरे।

तर, स्थानीय प्रहरी भने यस 'सर्च अपरेसन' बारे पूर्ण रूपमा अनभिज्ञ छ। इलाका प्रहरी कार्यालय तातोपानी वा जिल्ला प्रहरी कार्यालयलाई समेत पत्तो नदिई उपत्यकाको टोली सिधै रिसोर्ट पुगेर प्रमाण कब्जामा लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

'चोरी अनुसन्धान' को बहाना, निशानामा चैतको फुटेज

रिसोर्ट स्रोतका अनुसार गत चैतको पहिलो साता (गृहमन्त्री नियुक्त हुनुभन्दा केही दिन अघि) सुधन गुरुङ एक युवतीसहित उक्त रिसोर्टमा पुगेका थिए। रिसोर्टको नियमअनुसार परिवारबाहेक अन्य व्यक्तिसँग आउने जोडीको पहिचान पत्र (आईडी) माग गर्दा उनीहरूले दिन अस्वीकार गरेका थिए। तर, पूर्वगृहमन्त्री गुरुङको एउटा आईडी भने अझै पनि रिसोर्टको रेकर्डमा सुरक्षित छ।

मंगलबार सादा पोसाकमा पुगेका प्रहरीले 'दुई महिनाअघि रिसोर्टमा चोरी भएको' भन्दै सीसीटीभीको डिजिटल भिडियो रेकर्डर (DVR) र अन्य उपकरण माग गरेका थिए। कर्मचारीले कानुनी रूपमा 'सर्च वारेन्ट' माग गर्दा प्रहरीले उल्टै हप्कीदप्की गर्दै बलपूर्वक सामान र त्यहाँ कार्यरत कर्मचारीहरूको मोबाइल समेत खोसेर लगेका थिए।

सामान्यतया रिसोर्टको सीसीटीभी प्रणालीमा दुई महिना पुरानो फुटेज सुरक्षित रहँदैन। तर, प्रहरी टोलीले 'आफूहरूले फुटेज रिकभर गर्ने' भन्दै सम्पूर्ण हार्डवेयर नै नियन्त्रणमा लिएपछि पूर्वगृहमन्त्रीको प्रमाण मेटाउन यो प्रपञ्च रचिएको आशंका बलियो बनेको छ। प्रहरीको यो शैलीबाट त्रसित बनेका कर्मचारीहरू काम छाडेर तातोपानी बजारमा ओत लाग्न पुगेका छन्।

सञ्चालकहरू नै विवादमा, अलपत्र कर्मचारी

पूर्वगृहमन्त्रीको राजनीतिक कनेक्सन र प्रहरीको आकस्मिक छापाका बीच भोटेकोशी हेली रिसोर्टको आन्तरिक व्यवस्थापन समेत भद्रगोल अवस्थामा रहेको पाइएको छ।

रिसोर्टका वर्तमान दुई लगानीकर्तामध्ये दीपेन्द्र अग्रवाल बैंकिङ तथा सेयर कारोबारको विवादमा परेर फरार छन् भने अर्का सञ्चालक सुवास प्रधान जिल्ला प्रहरी कार्यालय, कास्कीको नियन्त्रणमा छन्। रिसोर्टका पुराना सञ्चालक एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भतिज समिर नेपाल र सोही पार्टीबाट गाउँपालिका अध्यक्षमा पराजित छिरिङ शेर्पा भने केही समयअघि नै व्यवस्थापनबाट अलग भइसकेका छन्।

सञ्चालकहरू नै सम्पर्कविहीन र कानुनी झमेलामा परेपछि कर्मचारीकै भरमा चलिरहेको रिसोर्टमा प्रहरीले 'सर्च वारेन्ट' विना नै छापा मारी प्रमाणहरू कब्जा गरेपछि पूर्वगृहमन्त्री जोडिएको यो घटनाले राजनीतिक र कानुनी वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ।