
ललितपुर ।प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए ।
माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउन सुझाव दिए । उनले यस क्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए ।
“पर्यटनमा यहाँको सम्भावना प्रवल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिक रूपमा बजारीकरण गर्नुपर्छ”, उनले भने ।
बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्धनका लागि सुरु गरिएको उक्त योजनाको सफलतासँगै ललितपुरको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताए ।
नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुःख र अल्झनहरू आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँ माझखण्डको मुहार फेर्नमा केबुलकार निर्माणको काम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
डेस्टिनेसन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताए ।
यो केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ । काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताए ।
सञ्जेलले भने,‘माझखण्ड केबल कारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्ने छ । चाहे तपाईं शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईंको उत्तम गन्तव्य बन्छ ।’
महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाङ्का (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताए ।
बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार १ अर्ब २० करोड लगानीमा केबुलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
Facebook Comments