काठमाडौं । नयाँ सरकारको आगमनसँगै उपभोक्तालाई राहतको सट्टा महँगीको ठुलो भारी बोकाइएको छ। प्रधानमन्त्री बालेन शाहले शपथ लिएको १४ दिनभित्रै दुई पटक र चैत महिनाभरि कुल तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ।
पछिल्लो पटक पेट्रोलमा १७ र डिजेलमा २५ रुपैयाँसम्मको भारी वृद्धि भएपछि पेट्रोलको मूल्य २१९ र डिजेलको २०७ रुपैयाँ पुगेको छ। अचम्मको कुरा त के छ भने, यसरी पटक–पटक मूल्य बढाउँदा र सरकारले भन्सार करमा ५० प्रतिशत छुट दिँदा पनि आयल निगमले पाक्षिक ७ अर्ब ८१ करोड घाटा हुने दाबी गरिरहेको छ।
निगमका अनुसार मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अनियन्त्रित हुनु र भारतबाट बढेर आएको दरमा यहाँ पूर्ण रूपमा 'स्वचालित मूल्य प्रणाली' लागू गर्न नसक्नु नै यसको मुख्य कारण हो। हालको मूल्यमा पनि निगमलाई डिजेलमा प्रतिलिटर १०९ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ घाटा छ। सरकारले पूर्वाधार कर र भन्सार शुल्क आधा घटाएर उपभोक्तालाई राहत दिन खोजे पनि विश्व बजारको महँगीले त्यसलाई पूर्ण रूपमा निलेको छ, जसका कारण युद्ध नरोकिउन्जेल इन्धनको मूल्य अझै बढ्ने सङ्केत देखिएको छ।
Facebook Comments