ललितपुरको  कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १६ औं अधिवेसन समक्ष नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष राजन प्रसाद घिमिरेले बजेट प्रस्तुत गर्नुभएको हो । 

आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष लामाले स्थानीय नागरिकका असीमित अपेक्षा र सीमित स्रोत साधनको बिचबाट सम्भव भएसम्म प्रभावकारी, दिगो र प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो । 

गाउँपालिकाको सभा समक्ष उपाध्यक्ष राजन प्रसाद घिमिरेले ४५ करोड ५९ लाख ७६ हजारको कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको छ । सभाले मंगलबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने छलफलका प्रक्रिया सम्पन्न गरी १६ गते बजेट पारित गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जानकारी गराएको छ । 

गाउँपालिकाको आर्थिक विकासका क्षेत्रहरु कृषि, पर्यटन, उद्यमशिलता विकास लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ भने गत असोजमा गएको बाढीका कारण उत्पन्न विपदपश्चातको पुननिर्माणलाई प्राथमिकता दिइएको छ । 

कोन्ज्योसोम प्रतिमा सहितको लोगो सार्वजनिक 

कोन्ज्योसोम गाउँपालिकाले स्थानीय सरकारको रुपमा आफ्नो मौलिक लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजन घिमिरेले संयुक्त रुपमा लोगो सार्वजनिक गर्नुभएको हो । गाउँसभाको १६ औं अधिवेसनका अवसरमा लोगो सार्वजनिक गरिएको अध्यक्ष कृष्णमान लामाले बताउनुभयो ।