पछिल्लो साताका नेपाली सञ्चारमाध्यममा चर्चामा रहेका दुई भिन्न विषयले नेपाली समाज, अर्थतन्त्र र राजनीति बुझ्ने र बुझन खोज्नेहरुको मनस्थितिमा पक्कै पनि असर गरेकै हुनुपर्छ । कुरो आफूलाई किसान मजदुरको असली नेतृत्वकर्ता दावी गर्ने र संसारभरका मजदुरहरु एक हौं भन्ने नारा व्यानरमा नछुटाई राख्ने कम्युनिष्टहरुको मोर्चावन्दी र कृषिप्रधान देश नेपालका किसानका रोदन र पीडाको हो । आफूलाई कम्युनिष्ट राजनीतिको अब्बल र क्रान्तिकारी ठान्ने संसदीय राजनीतिक प्रक्रियामा सामेल नभएका केही पार्टीहरु एकीकृत भएको एक महिना पनि नपुग्दै सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्र देखि हिंसात्मक राजनीतिकै सहारा लिएर वैज्ञानिक समाजवादको लक्ष्य प्राप्ती गर्ने बताइएको नेपाल कम्युनिष्ट पार्टी नेकपा एउटै मोर्चामा उभिए । समाजवादी मोर्चाको नाम दिएर जुटेका यी कम्युनिष्ट पार्टीहरुमा नेकपा एमालेभन्दा पनि क्रान्तिकारी बन्न गएको नेकपा एकीकृत समाजवादी र विचार र कार्यशैलीकै नाम दिएर वर्षैपिच्छे एकता र विभाजनका मोड पार गर्दै आएको जनता समाजवादी पार्टी एकसाथ उभिए । 

यसरी राजधानीमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु समाजवाद स्थापनाका लागि जुटेको भाषण गर्दै गर्दा त्यही मञ्चको केन्द्र भागमा श्रमजिवी किसान मजदुरको वास्तविक नेता आफू भएको दावी गर्ने प्रचण्ड देखि सडक आन्दोलन र संघर्षलाई निरन्तरता दिईरहेका विप्लव समेत संगै थिए । त्यही बेला वास्तविक किसान गोलभेँडाले मूल्य नपाएर सडकमा गोलभेँडा फ्याँकिरहेका थिए । चितवन, काभ्रे र सर्लाहीका किसानहरु सडकमा गोलभेडा फ्याकेर आन्दोलन गरिरहँदा किसानको नेता दावी गर्नेहरु आफैं किसानका माग ठूला ठूला श्वरमा चिच्याईरहेका थिए र सरकारको नेतृत्व आफैं गरिरहेका थिए । यो विरोधाभाष राजनीतिमा स्वाभाविक हो कि विक्न नसक्ने झुट हो भन्ने कुरा आजको राजनीति, अर्थतन्त्र र समाजले गहन परिक्षण गर्न जरुरी छ । 

यतिबेला सरकार बाहिर हुने कम्युनिष्ट पार्टीहरुको एउटा गठबन्धन छ, सरकारको नेतृत्व गरिरहेका सहितको सरकारमा भईरहेका हरुको अर्को गठबन्धन छ, अझ सरकार नै कम्युनिष्ट र लोकतन्त्रवादी मानिने नेपाली काँग्रेसको सरकार छ । यस्तो गठबन्धन नै गठबन्धन बनेर जनताका मुद्धा उटाउँछौं भनिरहँदा जुन ढंगले किसानहरुले गोलभेँडादेखि अन्य विभिन्न कृषि उपजहरुको न्युनत्तम मूल्य नपाएर फ्याँक्नुपरिरहेको छ यस्तो अवस्थामा नेपालीहरुको मनोदशा कस्तो बनिरहेको छ ? सरकारको र गठबन्धनहरुको मनोदशा कस्तो बनिरहेको छ । के यही अवस्थामा राज्यको अभिभावकत्व लिएका राजनीतिक दलहरुको भर परेर गोलभेँडाले न्याय पाउँछ ? के यही राजनीतिक मनोदशाबाट गरिव किसानले समयमा मल र विउ पाउँछन् ? अनि के यही राजनीतिक अभिभावकत्वबाट नेपाली जनताले भोकबाट मुक्ति पाउँछन् । यही मनोदशामा नेपाली किसानका छोराछोरीले शिक्षा र स्वास्थ्य पाउँछन् ? अनि नेपाली युवाहले यही अवस्थामा देश भित्र कस्तो खालको रोजगारी पाउँछन् उनीहरुको योग्यता अनुसारको । 

समाजवादको आधार शिक्षा स्वास्थ्य र रोजगार हो । समाजवादको आधार कृषि उपज उत्पादन गर्नेहरुको स्वाभीमान र लागत अनुसारको मूल्य हो । समाजवादको आधार श्रमको मूल्य र स्वाभीमान हो । यस्तो अवस्थामा समाजवादका गन्तव्य देखाउनेहरुले समाजवादका आधारभूत पक्षहरुको जग किन बसाउन नसकेको जनतामाझ जवाफ दिनुपर्छ कि पर्दैन ? कार्यान्वयन गर्ने ठाउँमा आफैं भएर समाजवादको भोको सपना बेच्दै किसानका आँसु नदेखेजस्तो गर्न पाइन्छ कि पाइँदैन ? अनि समाजवादको सपना देखाएर श्रमिकका उत्पादनमा डोजर चलाउन पाइन्छ कि पाइँदैन ? यी तमाम प्रश्नहरु समाजवादको सपना देखाउनेहरुलाई जनताले सोध्नेछन् । जसका लागि समाजवाद भनेर भाषण गरिएको हो उनीहरुले सोध्नेछन्  । उनीहरुले सोध्न सकेनन् भने समयले सोध्नेछ । मौन रहने र अर्कोलाई देखाउने छुट छैन उत्तरको तयारी गरिरहनु नै यतिबेला सबैभन्दा श्रेयस्कर छ ।