धनकुटा । धनकुटा नगरपालिकाले नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाई अभियान सुरु गरेको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत शहर’ नाराका साथ नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाई थालेको हो ।

अभियानको पहिलो दिन शनिवार पर्डेप नेपालसँगको सहकार्यमा बसपार्कसहित जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचयमोड लगायत बजार तथा सडक क्षेत्रको सरसफाई गरिएको छ । सरसफाई अभियानको अगुवाई गर्दै नगर प्रमुख चिन्तन तामाङ आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए । उनीसँगै प्रमुख जिल्ला अधिकारी लिला केसी, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, धनकुटा ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, शसस्त्र प्रहरी प्रमुख डीएसपी दिपक बलामी, सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणका गणपति सुमन थापा लगायतका जिल्लाका उच्च पदस्थ अधिकारीहरु पनि सरसफाइ अभियानमा कुचो बोकेर निस्किएका थिए ।

अब, नगरलाई थप सफा र सुन्दर बनाउँन अभियानकै रुपमा सरसफाइ गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । विभिन्न संघसस्था, सुरक्षा निकाय, नगरबासी लगायत सबैसँग सहकार्य गरेर सरसफाइ अभियान थालीउकाे बताउँदै उनले धनकुटा नगरलाई अझै सफा र सुन्दर बनाउँन यो अभियानलाई निरन्तरता दिने बताए ।

धनकुटा नगरपालिकाले केही साता सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरेर जथाभाबी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ । जथाभाबी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ । चैत महिनाभर सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभाबी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको वातावरण उपशाखा प्रमुख उपेन्द्र खनालले बताए । जथाभाबी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गराउँन सक्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म नगरपालिकाले कडाइ नगरेकाे र अबका दिनका कसैले अटेरगरेकाे खण्डमा  बैशाखबाट कडाइका साथ कारबाही गरिने उनकाे भनाइ छ ।

धनकुटा नगर, मुलुककै सफा सहरका रुपमा चिनिन्छ । २०७४ सालमा देशभरको सबैभन्दा सफा सहरका रुपमा धनकुटा नगरलाई सरकारले १० लाख नगदसहित पुरस्कृत गरेको थियो । धनकुटा नगरले हालसम्म नगर क्षेत्रका २ हजार ६ सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरुमा पनि ९ सय ५० वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।