काठमाडौं। तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको बताएका काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए ।
उनले न्युल्केस श्रेष्ठले मात्र बाबु बनेर कम्तीमा ५ जनालाई नागरिकता बनाइदिएको पाइएको छ । तीमध्ये ठिन्ले पनि एक हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विगत ९ वर्षेदेखि क्यान्टिन चलाउँदै आएका लामाले सरकारी कार्यालयभित्रको जिम्मा लिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार एउटा नक्कली नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिने गरिएको र नक्कली बाबुलाई १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको छ ।
यस्तै नागरिकता जारी गर्ने कार्यालयमा मिलाएबापत लामाले एक लाख देखि एक लाख ५० हजार रुपैयाँसम्म लिने गरेको एसएसपी केसीले बताए । प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयका पूर्व र बहालवाला कम्तीमा ४ जना कर्मचारीमाथि निगरानी राखेको छ।
‘बरामद कागजातअनुसार विशेष गरी तिब्बतीयनहरुलाई उनीहरूले नागरिकता बनाइदिने गरेको पाइएकोप्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नक्कली बाबु बनेका न्युल्केसको नाममा मिङछुङ शेर्पा नामको नक्कली नागरिकता पनि रहेको छ। प्रहरीका अनुसार उक्त नागरिकताकै आधारमा नक्कली बाबु बनेर विभिन्न ५ जनालाई सक्कली नागरिकता जारी भएको छ।
Facebook Comments