नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको  काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले  जानकारी दिए।

उहाँलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो’, एसएसपी कार्कीले भने, ‘अहिले उहाँलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यहाँ सामान्य सोधपुछ हुनेछ। त्यसपछि उहाँलाई काठमाडौं प्रहरी परिसर ल्याइनेछ।’ 

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन्। 

 

 

उक्त प्रकरणमा आफ्नो नाम पनि जोडिएर समाचार आउन थालेपछि पूर्वगृहमन्त्री खाँणले यही वैशाख २३ गते विज्ञप्तिमार्फत आपत्ति जनाउँदै संलग्नता इन्कार गरेका थिए। 

 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै करोडौं रकम असुलेको उक्त काण्डमा  यसअघि मंगलबारसम्म ११ जना पक्राउ परिसकेका छन्।    

 

सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ। हाल उनी फरार छन्। उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन्।