असार ६, ललितपुर ।
गोदावरी साहित्य परिषद्ले प्रदान गर्ने कला साहित्यतर्फको स्रष्टा सम्मान पुरस्कार यस बर्ष अजय देशारलाई प्रदान गरिएको छ । गोदावरी साहित्य परिषद्को मुखपत्र गोदावरी अंक २ को लोकार्पण, स्रष्टा सम्मान, कविता तथा चित्रकला प्रतियोगिता एवम् रचना वाचन कार्यक्रममा नगद ५ हजारसहित चित्रकार देशारलाई उक्त सम्मान गरिएको हो ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं ११, चापागाउँ स्थायी बासिन्दा रहेको देशारले चित्रकलामा २५ बर्षभन्दा लामो समय विताउनुभई र सन् २०१२ बाट चित्रकला सिकाउने उद्देश्यले योङ पिकासोमार्फत कला क्षेत्रमा दिइएको योगदानवापत देशारलाई सम्मान गरिएको हो । युरोपियन युनियनबाट मान्यताप्राप्त साझा संस्था कलर फर पिसको नेपाल एम्बेसडरसमेत रहेका देशार गोदावरी क्षेत्रकै विशिष्ट व्यक्तित्वको रुपमा पहिचान गरि सम्मान पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
समारोहमा वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन मेयर कायस्थ्यलाई मरणोपरान्त साहित्यतर्फको स्रष्टा सम्मान प्रदान गरिएको छ । कायस्थका छोराले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा चित्रकला र कविता क्षेत्रमा प्रतियोगितात्मक प्रतिस्पर्धा गराइएको थियो । दुवै क्षेत्रमा प्रथम, दोस्रो, तेस्रो र सात्वना पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै गोदावरीका नगरप्रमुख महर्जनले कला साहित्यलाई व्यावसायिक रुपमा लानुपर्नेमा जोड दिनुभयो । गोदावरी क्षेत्र रहनुभएका कला साहित्य क्षेत्र स्रष्टा सम्मानले कला साहित्यको विकास र विस्तारमा जोड दिने बताउनुभयो ।
यसैगरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले कविता बाचनसहित कलाको विकासको लागि नगरपालिकाले भूमिका खेल्ने बताउनुभयो ।
उक्त समारोहमा करिब १ दर्जन साहित्यकारहरुले कविता बाचन गर्नुभएको जानकारी गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments