काठमाडौं । गएरातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची कायम गरेको छ । नयाँ सूचिमा पहिलो, दोस्रो र तेस्रो वर्गको लागि भनेर फरक फरक मूल्य कायम भएको छ । अब नेपाल भित्र नै पेट्रोलियमको ३ वटा मूल्य तोकिएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गको लागि प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रो वर्गको लागि प्रतिलिटर १६९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गका लागि १४७.५० रुपैयाँ, दोस्रो वर्गको लागि १४९ रुपैयाँ र तेस्रो वर्गको लागि १५० रुपैयाँ प्रतिलिटर नयाँ मूल्य तोकिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले डिपोबाट १५ किलो मिटरसम्म एउटा मूल्य र त्यसपछि विक्रेताले ढुवानी भाडा जोडेर विक्री गर्न पाउने ठाकुरले बताए ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी लगायतका स्थान रहेका छन् ।

यस्तै दोस्रो वर्ग अन्तरगत सुर्खेत र दाङ रहेका छन् । भने तेस्रो वर्ग अन्तरगत काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।